कविता
आह्वान - केशर थुलुङ
खनिन्नुपर्छ, जोतिन्नुपर्छ - माटो
फोडिन्नुपर्छ, तोडिन्नुपर्छ - पहाड
पुरिन्नुपर्छ, भरिन्नुपर्छ - खोचहरु
युगान्तकारी क्रान्तिका
आह्वान हो यो-
युवाहरुका, बृद्धाहरुका
कलिला नानिहरुका
जो चाहन्छन् बन्न
यो देशको असल नागरिक
जो चाहन्छन् गर्न
यो देशलाई माया
जो चाहन्छन् बाँड्न
यो देशभरि खुसी
जो चाहन्छन् बनाउन
यो देशलाई समृद्धशाली
पोखिएका मनहरु
शोषित मष्तिष्कहरु
गर्जिदै खबरदारी गरिरहेछन्
अराजकतावादीहरुप्रति
सामन्तवादीहरुप्रति
हामी स्वतन्त्र बाँच्न चाहन्छौँ
हामी सहि आवाज बोल्न चाहन्छौँ
हामीलाई तिमेरुको बाटो हिँड्न मन छैन
सचेतन आदेश बोलिरहेछ निरन्तर - - -
निहत्था नसोच- हामीलाई
हामी सङ्कल्पित हातहरु लिएर आउँदैछौँ
हामी सङ्कल्पित खुट्टाहरु लिएर आउँदैछौँ
हामी सङ्कल्पित शरीरहरु लिएर आउँदैछौँ
तिमेरुका भन्डाफोर गर्न
र, एउटा उज्यालो आकास भर्न
एउटा उज्यालो धर्ती बाँच्न
जब मौलाउँदै जान्छन्
हिमाल, पहाड, तराइभरि
अत्यासलाग्दो आवाज
बोकेर आएका हिंस्रकहरु
ठीक त्यहीबेला
उभिएर सहिदहरु जडकिन्छन्
फेरि हामी
हाम्रा आदिम सभ्यात छर्न आउँदैछौँ
हाम्रा पसिना र रगतमा
जीवन्तयुग, समावेसीयुग, सङ्घीययुग
आत्मिययुग, समायोजीतयुग उमार्न उठ्दैछौँ
सावधान ! सावधान !!
सशङकित दु:ख फैलाउनेहरु
मनका ढोकाहरुमा गजबार लगाउनेहरु
उच्चताको अहङ्कार देखाउनेहरु
साम्राज्यवादी पैताला हिँड्नेहरु
सङ्कीर्ण भाषा बोल्नेहरु
- - - - - - - - - - ।
साभार: "गरिमा" साहित्यिक मासिक
No comments:
Post a Comment