Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता

जिल्लारामहरु
Keshar Thulung
(केशर थुलुङ)

सहरको परिवेशभित्र
नअटेका - जिल्लारामहरु
मनभरि बोक्न नसकिने
स्वार्थको भारी बोकेर
सहरदेखि गाउँ धाउँछन्

सोचेका होलान्
भाङ्ग्रा ओढेर सुत्ने गाउँ
अझै उस्तै छ
पहिलेका दसकहरुजस्तै
तर जिल्लारामहरुका कनसिरी
ठडिएकाछन् काँडेतारहरुजस्तै यतिबेला
गाउँ पनि सहरजस्तै भएको महसुसमा

हिमालजस्तै अग्लिएका मन
भुइँमा लम्पसार परेकाछन्
चट्टानजस्तै कठोर मन
पग्लिएकाछन वरफजस्तै
सपनाहरु एक्कासी टुक्रा-टुक्रा भएर
छरिएकाछन् यत्रतत्र

स-चेतना र निर्दिष्टताको
ढुवाङ् फुक्ने जिल्लारामहरु
आफू हुनुको खोल ओढेर
गल्ली-गल्लीमा हिँडिरहेका छन्
चोक-चोकमा कराइरहेका छन्
उही पुरानो रवाफमा
पुरानै इतिहास दोहोर्‍याउने
उद्देश्यमा

तर इतिहास बदलिएको छ
अहंकारी रवाफको निम्ति
विद्रोहको गोलमेच बनेको छ
चाल-चलनमाथि उठिसकेको छ
समाज र वस्तीले
परिवर्तनको छलाङ् मारिसकेको छ
यही मानेमाकी
कठै ! फुङ्ग उडेको 
चैतमासजस्तै देखिन्छ्न जिल्लारामहरु । 

No comments:

Post a Comment