Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता

बा र युद्ध मेडलहरू
Chandra Gurung
(चन्द्र गुरुङ )

वर्तमान,
फेरिएको छ जीवनको रंगरुप–
शिरमा एकातिर ढल्किएको
शानहीन फौजी टोपी
खुट्टाहरूमा पुरानो बुटजुत्ता
जीर्ण शरीरमाथि बटनहरू चुण्डिएको
सरकारी हरियो कमीज
हातमा रंग खुइलिएको गोर्खे लौरी
र, भुत्ते सिरुपाते कम्मरमा ।

झुण्डिएका छन् घरका भित्ताभरि–
लडाइँहरूका यादमा हाय काढ्दै
पल्टने स्मृतिचिन्हहरू
घूमिल अनुहार बोकेका युद्ध–फोटोहरू
र,च्याउरिएको पेन्शनपट्टा ।

 झोक्रिएको यस्तो समयमा
(उमेरका सबै रंगहरू पहेंलिएका बा)
सुनाउनु हुन्छ–कि
 गहिरो दुख्छन् रे उनको बुढौली छातिभन्दा
 छाति थिच्ने यी युद्ध मेडलहरू ।

(दुःख दिने, सुख दिने, माया लाग्ने र माया नलाग्ने संसारका सारा बाहरूलाई ।)


 

No comments:

Post a Comment