Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता

रेखा अवतरण

Tanka Subba
(टंक सुव्वा)

खुल्ला आकासमा
विचरण गरीरहेका रेखाहरु
जव मानिस मस्तिष्कमा
अवतरण भयो ...
तव रेखाको परिकल्पना
जीवन्त भएर उभिदियो
अनि हरेकले रेखासंग
जीवनको तादाम्यता सोच्न थाले
हाम्रो बाजे बराजु
अथवा त्यहाँ भन्दा उताका सन्ततीहरुले
रेखालाई नजाने पनि
रेखालाई नबुझे पनि
त्यहिबाट यता पछ्याउँदै आएका हुन्
र अहिले हामीले
त्यहि रेखा देखेका हौ
आदिमकाल भन्दा उत्तादेखि
कोरिंदै आएका रेखाहरु
अव भविष्य संगैकारीदै जानेछन्

यो संसारमा रेखा नभई दिएको भए
कुनै नयाँ प्रारुपहरु आउँदैन थिए होला
तर नयाँ नयाँ रेखाहरुको उत्पतीले
हाम्रा पाईलाहरु
ती रेखाहरुमा टेकिदै गएका छन्
तिनै रेखाहरु
आजभोलि यहाँ अवतरण भएका छन्
विचारहरुमा/दर्शनहरुमा
भावनाहरुमा/मस्तिष्कहरुमा
अक्षरहरुमा/शब्दहरुमा
अथवा रेखाहरुले रेखाङकीत भएका
सवै विषयबस्तुहरुमा
रेखा अवतरीत भएको छ
त्यसैले त जीवन रेखा वनेको छ
वा रेखा जीवन वनेको छ
रेखाको अवतरणले
हामी सवैलाई
भ्रम पैदा गरी दिएको हुन सक्छ
किनकी चारैतिर रेखाहरु तरङगीत हुँदा
अरु केहि नभए जस्तै हुन सक्छ
तर रेखाभित्र
जीवन र जगत रहेछ

त्यसकारण रेखाको अवतरणलाई
हामीले स्वागत गरेका हौ
रेखालाई हाम्रो दृष्टिले
रेखालाई हाम्रो अन्तर्रदर्शनले
अथवा अनेकौ रुपले
जव हामी छाम्छौ
तव सिर्जनाको फूल फूल्न थाल्दछन्
हो त्यसैलाई त रेखा हाम्रो साध्य भएको छ
जसरी प्रयोग गरेपनि हुने
जसरी परिभाषा गरेपनि हुने
जसरी दृष्टिपात गरेपनि हुने
यो रेखाको सुनौलो अवतरण
हामीले चाहेका थियौ
हो त्यहि रेखा यसरी आजभोलि
अनेकौ स्वरुपमा बाँची दिएको छ ।
त्यसैले होला रेखाविनाको जीवन
कल्पना गर्न सक्दैनौ
लाग्छ जीवन रेखाले डोर्याएको रहेछ
जता जता रेखा उतै उतै जीवन हिडीरहेछ
यसर्थ रेखा अवतरण
हामी माझ यसरी भएको छ
जो कहिल्यै सोचेका थिएनौ ।

No comments:

Post a Comment