Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कथा

क्षणिक हाँसोका वीच अलमलिएका मानिस
-Kumari Lama
(कुमारी लामा)

           "लौन म बर्बाद भएँ " भनी चिच्याएको आवाज मेरो कानसम्म ठोक्किन आइपुग्यो । शान्त फेवा तालको किनारको भीडबाट आएको आवाज थियो त्यो । झसङ्ग हुँदै आवाज आइरहेको दिशातर्फ आँखा दौडाएँ । एउटी ६५ काटेकी जस्ती , केश फुङ्गै फुलेकी अनि दुब्ली कम्जोर देखिने बृद्धा आँखाभरि आँसु पार्दै कराउँदै थिइन् । कोजाग्रत पूर्णिमाको दिन भएकाले फेवा किनारमा तालबाराही दर्शन गर्न जानेको भीड थियो। कुरा बुझ्दै जाँदा थाहा भयो , ती बृद्धा पनि ताल बाराही दर्शन गर्न आएकी रहेछिन्। तर त्यो भीडमा कुनै मौका छोपी बसेको बदमाशले उनको गलाको दुइ तोलाको सिक्री तानेर भागेछ । त्यही भएर ती वृद्धा बेहोस जस्तै भई हार गुहार गर्दैरहेछिन्। तर त्यो भीडमा चोरलाई समाउनु त सम्भव नै भएन । ती बृद्धाको अवस्थामा सहानुभूतिका शब्दहरू पस्कनेको भने बाक्लै भीड जम्मा भएको थियो त्यहाँ । मान्छे पिच्छेका कुराहरू पनि हुँदै थिए । कसैले ‘ बिचरा कस्तो बर्बाद भयो यो आमैको ‘ भन्दै थिए भने कसैले ‘ यस्तो भीडमा किन सुन लगाएर आउँनु पर्ने होला ‘ भन्दै थिए। जसले जे भने पनि ती बुढी आमाको पीडा आफ्नै ठाउँमा थियो । ती विभिन्न तर्क बितर्कका वीच मेरो मनमा भने अर्कै कुराले बेस्सरी अट्ठयाइरहेको थियो । म ‘ मानिस ‘ सँग त्रसित हुँदै थिएँ ।
त्यो चोरी अरू कसैले हैन एउटा मानिसले नै गरेको हो । ती बृद्धाको आँसु र मुटुभरि पीडाहरू मानिसले नै दिएको हो । अनि मानिस भन्दा डरलाग्दो जन्तु को होला र यस संसारमा ! मानिसले नै सधैँ आफै जस्तो अर्को
मानिसलाई कहिले पार पाउँन नसक्ने दुःखको खाडलमा खसालिदिन्छ । मानव सभ्यताको विकासक्रमसँगै सम्पूर्ण हिंस्रक भन्दा हिंस्रक जनावरहरूलाई पनि मानिसले आफ्नो बशमा पारिसकेको छ । अब मानिसलाई
ती जनावरहरूको डर छैन , छ त केवल आफै जस्तो रूप र गुण बोकेको अर्को मानिसको । यो बिडम्बनापूर्ण सत्यलाई हामीले आत्मासात गर्नु परेको अवस्था छ । हामी मानिसबाटै असुरक्षित छौँ । हामीले आफू जस्तै नाक , मुख , हात गोडा र मन मुटु भएकाबाट बच्नका लागि सुरक्षा गार्ड र घर टोलमा साइरन राख्नु परेको छ । हामी किन यसरी सभ्यताको विकाससँगै आफू चेतनशील मानिस हौँ भन्ने कुरा बिर्सदै छौँ ?
       आफ्नो सुन्दरताले धपक्क बलेकी पोखरा त्यसैगरी खुलेकी थिइन् , माछापुछ्रे हिमाल खुसी भई आफ्नो आकृति फेवा तालमा निहृयाली रहेका थिए , फेवा तालले पनि आफ्ना उत्सुकताहरू मनमनै दबाई शान्त भई माछापुछ्रेलाई आफ्ना छातीभरि अटाइरहेकी थिइन् त्यो विहानीमा तर त्याँहा असुरक्षित र अशान्त थिए केवल ‘ मानिस ‘ । त्यही डर र असुरक्षालाई dmन् साथ दिनका लागि त्यही भीडबाट आफू जस्तै एउटा मानिस निस्किई ती वृद्धालाई त्यत्ति दुःखी बनाई भाग्यो । जब म मानिस यस्तो घिनलाग्दो काममा सामेल भएको देख्छु त्यत्तिखेर आफू मानिस भई जन्मेकोमा ज्यादै दुःख लाग्छ । हामी मानिसमा भन्दा पशुहरूमा वढी इमान्दारिता छ । पशुहरूको संसार चोरी चकारी र ढाँट छल भन्दा निकै पर छ । तर हामी मानिस निच भन्दा निच काम गर्न पनि पटक्कै हिच्किचाउदैनौँ । हामीलाई सिर्फआफ्नो खुसी र स्वार्थपूर्तिको ध्याउन्न हुन्छ । आफूले गरेको कार्यबाट अरूलाई कस्तो असर पुग्छ भनी हाम्रो चेतनाले कहिल्यै पनि मनन गर्न चाहदैन।
स्रिष्टिकर्ताले हामी मानिसलाई कर्म गनका लागि दुइ हात र सोचबिचारका लागि मस्तिष्क दिएका छन् । तर हामी हाम्रा वलिष्ठ हातहरू अर्काको सम्पत्ति हत्याउनमा प्रयोग गरिरहेका छौँ । हामीले हाम्रो मस्तिष्क सिर्जनशील कार्यमा भन्दा कसरी अर्कालाई बिगार्ने , ढाँट्ने र छल्ने भनी घुमाउनमा व्यस्त छौँ। मानिस भएर जन्मिनुको अर्थ यही हो त ? जब यस्ता घटनाहरूको साक्षी हुन्छु , बारम्बार मनमा यही प्रश्न दोहोरिरहन्छ । अनि उत्तरमा पनि एउटै कुरा गुन्जिन्छ , होइन , होइन , होइन । हाम्रो अमूल्य एकबारको मानव चोला यस्तो नचाहिदो कामको लागि हुँदै होइन । हामी मानिस यस धर्तीमा जन्मिएपछि मानिस जस्तै भएर बाँच्नु पर्छ । मानिसको मानवीय गुण भनेको ढाँट , छल र बेइमानी नभई इमान्दारीता , उद्धारता र कोमलता हो । आफूले पसिना चुहाएर मेहनत गरेर कमाएको मात्रै आफ्नो हो भन्ने कुरा हामीले बुझ्नु पर्छ । मेहनत नगरी अर्कालाई लुटेको सम्पत्तिले मानिसलाई कहिल्यै पनि पुग्दैन । त्यो जसरी आएको हुन्छ हामीलाई पत्तै नदिई त्यसै गरी जान्छ पनि।
      त्यो वुढी आमाको सिक्री चोर्ने चोर केही दिन त पक्कै खुसी होला तर उसले जसरी सजिलो गरी पाएको थियो त्यो त्यसै गरी उडी जान्छ । चोरेर कोही पनि करोडपति हुन सक्दैन । चोरले जहिले पनि आफूभित्र हीनताबोध , ग्लानी र एककिसिमको पीडाबोध गरिरहन्छ । ऊ चोर भए पनि ऊ एउटा मानिस हो । अनि प्रत्येक मानिसभित्र एउटा भगवान हुन्छ । हामी मानिसले सारा संसारलाई ढाँटे पनि आफूभित्रको भगवानलाई कहिल्यै पनि झुक्याउन सक्दैनौँ । जब त्यो चोर एक्लै हुन्छ र आफूभित्रको भगवानसँग साक्षातकार गर्छ, ऊ अपराधबोधले फतक्क गल्न पुग्छ। उसले आफूभित्रको भगवान समक्ष ठाडो शीर गरी सामना गर्न सक्दैन। किन कि उसले धेरैलाई रूवाएको छ, दुःखी बनाएको छ अनि बिचल्ली पनि पारेको छ। हामीले जस्तो व्यबहार ग-यौँ त्यस्तै पाउँछौँ। अर्कालाई सधैँ काँडा दिनेले अरूबाट फूलको आशा गर्नु सिर्फ कल्पना हुन्छ। हामी चेतनशील प्राणी ‘ मानिस ‘ हौँ त्यसैले हामीले मानिस भई जन्मेको धर्म निभाउने प्रयत्न गर्नुपर्छ। हामी माथि जन्मदिने आमा र हामीलाई उर्वर धर्ती दिने जन्मभूमिको सधैँ ऋण हुन्छ । त्यसलाई आ-आफ्नो तरिकाबाट जननी र जन्मभूमिको सेवा गरी तिर्ने प्रयास गर्नुपर्छ । हामीले आफ्नो जीवनकालमा सा-है ठूल-ठूलो काम गर्न नसके पनि एउटा इमान्दार व्यक्ति भई रहन भने पक्कै सक्छौँ । त्यत्ति गर्ने प्रयास गरिए पनि हाम्रो जीवन र्सार्थक हुन्छ । हामी यदि कसैलाई सुख र खुसी दिन सक्दैनौँ भने पनि कम्तिमा अरूलाई दुःख नदिने प्रयत्न गर्न सक्छौँ । आफ्नो कारणले कसैले दुइ थोपा मात्रै आँसु झारेको छ भने हामीले पनि कुनै न कुनै बखत चार थोपा आँसु झार्नै पर्छ । हामीले जस्तो दिन्छौँ त्यस्तै पाउँछौँ । यो संसारमा जति पनि क्रियाकलापहरू हुन्छन् , ती सबै चक्र झैं घुमिरहन्छन् । अनि हामी सबै जना त्यस चक्रमा घुमी फिरी आइपुग्छौँ। त्यस चोरलाई कसैले समात्न नसके पनि ऊ आफूभित्रको भगवानबाट भाग्न सक्दैन । ऊ आफैबाट भागेर कही पुग्ने ठाउँ नै हुदैन। अन्तमा ऊ आफ्नै हीनताबोधको रापले डढेर खाक हुन्छ । अर्काको दुःखमा हाँस्ने हाँसो मात्र केही क्षणको हो । क्षणिक हाँसोको वीच नअल्मलिई इमान्दारीपूर्वक आफ्नो कर्ममा लाग्नु नै वास्तविक जीवन बाँच्नु हो । भ्रमका पर्दाहरू च्यात्नुपर्छ । अर्थपूर्ण जीवनले सधैँ हामीलाई पर्खिरहेको छ।

No comments:

Post a Comment