- पूर्ण विके
प्रकाशित मिति: २०७१ वैशाख २ ११:०५
'उहाँ गाउँ आउँदा स्थानीय परिकारहरू खोजीखोजी खानुहुन्थ्यो,' लक्ष्मी अधिकारी भन्दै थिइन्, 'हिमशृंखला र समथर फाँटहरू हेरेर रमाउँदै प्रकृतिको बखान गर्नुहुन्थ्यो ।
'७१ वर्षीया अधिकारी आफ्ना देवर कविगीतकार क्षेत्रप्रताप अधिकारीको सम्झनामा भावुक भइरहेकी थिइन् । हृदयाघातका कारण आइतबार राति राजधानीमा निधन भएका क्षेत्रप्रतापलाई जन्मगाउँमा अन्य धेरैले मिलनसार र प्रकृतिप्रेमी व्यक्तिका रूपमा स्मरण गरिरहेका छन् ।
क्षेत्रप्रतापको जन्म १९९९ सालमा मिर्लुङ गाविसको बयपानी काउले गाउँमा भएको थियो । उनी किशोरावस्थामा काठमाडौं पुगे र जुद्धोदय माविबाट एसएलसी, नेसनल कलेजबाट स्नातक सके । अनि जापान गई अर्थशास्त्रमा एमए गरे । २०२१ सालमा साझा प्रकाशनमा सामान्य तहबाट सेवा प्रवेश गरेका उनी २०३१ मा साझाकै सदस्यसचिव भए । पछि अध्यक्ष र महाप्रबन्धकसम्म बने । क्षेत्रप्रताप पञ्चायती राजनीतिमा पनि होमिएका थिए । २०४३ को चुनावमा उनी राष्ट्रिय पञ्चायत सदस्य चुनिएका थिए र मरिचमान श्रेष्ठको मन्त्रिमण्डलमा सहायक शिक्षामन्त्री भएका थिए । तर, जीवनको अधिकांश अवधि राजधानीमा बिताएका उनी कविगीतकारका रूपमा बढी चिनिए । २०२४ सालमा 'रहर लागेर' कविता संग्रहबाट साहित्ययात्रा सुरु गरेका उनका 'गामबेसीका गीत', 'पहाडदेखि पहाडसम्म', 'मत लालीगुराँस भएछु,' 'फेरि एउटा परिवर्तन' जस्ता कविताकृति प्रकाशित छन् ।
उनका गीतहरू नारायणगोपाल, बच्चु कैलाश, रामकृष्ण ढकाल, कुन्ती मोक्तान लगायतले गाएका छन् । 'म त लाली गुराँस भएछु।।।,' 'मलाई छोडी मेरो छाया कतै झरेछ।।।,' 'गोठालो जाँदा लाएको माया।।।' उनका लोकप्रिय केही गीत हुन् । त्यस्तै अर्को चर्चित गीत हो—
जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ।।।
केही समययता अस्वस्थ क्षेत्रप्रतापलाई शनिबार गाह्रो भएपछि राजधानीको सहिद गंगालाल हृदय रोग केन्द्र पुर्याइएको थियो । माथिको गीतिपंक्तिमा इच्छा गरे जस्तै, त्यहाँबाट उनी घर र्फकन सकेनन् । उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाउने तरखरमा परिवार छ । उनले पाँच वर्षअघि नै शरीर दान गरेका थिए ।
क्षेत्रप्रताप राष्ट्रप्रेमी र प्रकृतिप्रेमी कविगीतकारका रूपमा प्रशंसित थिए । उनका सबैजसो कृतिमा राष्ट्र र राष्ट्रियता, हिमाल पहाड तराईका सन्दर्भ समेटिएका छन् ।
'उहाँमा प्रकृति र पर्यावरणलाई कवितामा व्यक्त गर्न सक्ने खुबी थियो,' क्षेत्रप्रतापका भतिज नारायण अधिकारीले भने, 'गाउँ आउँदा शिक्षा र विकास निर्माणको कुरा गरेर पनि हामीलाई जागरुक बनाउनुहुन्थ्यो ।'
क्षेत्रप्रतापलाई कुनै गाउँको मात्र नभई तनहुँ जिल्लामै विकासप्रेमी व्यक्तिका रूपमा आफूले बुझेको मिर्लुङ गाविसका सचिव भूपेन्द्र पौडेलले बताए ।
प्रकाशित मिति: २०७१ वैशाख २ ११:०५
No comments:
Post a Comment