Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कृति चर्चा

मलाया एक्सप्रेस:  मलायाका कथा व्यथा
Akhanda Bhandari
(अखण्ड भण्डारी)
 

'आई लभ यु, मेरो काले !'
रातको साढे १० बजे उसको मोबाइलमा एसएमएस आयो । सिरकको गुजुल्टोलाई खुट्टा बोकाएर ओछ्यानमा लडेको ऊ मोबाइल खेलाउँदै त्यही कुरिरहेको थियो । एकै सासमा हेर्‍यो । अनि, तीव्र गतिमा प्रत्युत्तर टाइप गर्‍यो, 'सेम टु यु मेरी काली, डल्ली, पोक्ची !' 'बज्याले आज पनि घर छोडेन', उत्तरको उत्तर आयो ।  'भोलिचाहिँ एक-दुई घन्टा कतै पठाइदेऊ न,' उसले सन्देश पठायो । 'आई विल ट्राई,' कम्बटमा बसेर कन्दै उसले टाइप हानी । 'दुई दिन भइसक्यो, म त मर्नै लागें !'  'मचाहिँ बाँच्न लागेकी छु होला र ?'
'त्यो बज्या फेरि कहिले विदेश जाने रहेछ ?' 'जति सोधे पनि भन्दैन ।' 'भोलि ऊ नुहाउन छिर्दा फुत्त आऊ न ।'  'नुहाउन न नुहाउँदैन !' 'धत् !'  'डन्ट वोरी, अरू आइडिया खोजौंला ।' धेरै पैसा कमाउने, परिवारलाई सुखमा राख्ने, बालबच्चालाई राम्रो शिक्षा दिनेजस्ता सपना सजाएर ऊ विदेश गयो । रगत पसिना बगाएर केही कमायो । पठायो । सहरमा घर बनायो । श्रीमती र छोराछोरीलाई त्यहाँ राखिदिएर फेरि विदेशै हानियो ।  'एउटा कोठा भाडामा लायो भने तरकारी खाने पैसा आउँथ्यो,' एक दिन फोनमा श्रीमतीले भनी ।  'राम्रो मान्छे खोजेर राख न त,' लोग्नेले अनुमति दियो । त्यही 'राम्रो मान्छे' का रूपमा आयो एउटा विद्यार्थी । केही दिनमै श्रीमती र उसको चक्कर सुरु भयो । आफ्नामा बालबच्चालाई मात्र सुताएर अब उसको बासै त्यही केटाको कोठामा हुन थाल्यो ।  अर्को वर्ष बूढो बिदामा आयो । बूढीको बास आफ्नै कोठामा त सर्‍यो । तर पनि तलतलले उत्पातै सतायो । जब त्यो विद्यार्थीसँग आलिंगनमा बाँधिएको सम्झना आउँथ्यो, ऊ ट्वाइलेटमा छिर्थी । रिङ आएको बूढाले नसुनोस् भनेर मोबाइल साइलेन्ट गर्थी । अनि, सुरु हुन्थ्यो- एसएमएस आदानप्रदान । एक घण्टा भइसक्थ्यो, अहँ, ऊ फर्किन्न थिई । बरु त्यही विद्यार्थीसँग रहर पुगुन्जेल कुरा गरेर एसएमएस डिलिट गर्थी र लुसुक्क कोठामा छिर्थी । खटपटाउँदै ओछ्यानमा लडिरहेको लोग्नेलाई छोइन्छ कि जस्तो गर्दै अर्कातिर फर्किएर सुत्थी । उसको पारा देख्दा लोग्नेको मनमा शंकाको आगो दन्किइरहेको थियो । संयोगवश उसले पनि एक दिन एसएमएस डिलिट गर्न बिर्सिछे । बिहान ऊ भान्सातिर गएको मौका पारेर उसले वार्तालाप छर्लंगै पढ्यो । जहाँ आफूलाई 'बज्या' भनिएको थियो र दुई दिन अँगालो मार्न नपाउँदा उनीहरू 'मर्न लागेका' थिए । बाफ रे बाफ ! ऊ त छाँगाबाटै खस्यो !! डेरावाल केटालाई आवेशमा झाप्पु लाएर निकाल्यो । श्रीमतीलाई दुई-चार थप्पड हान्यो । केही घण्टामै घरमा प्रहरी आए । उसैलाई समातेर लगे । चौकीमा महिला अधिकारकर्मी पनि भरिभराउ रहेछन् ।  'घरेलु हिंसा गर्ने...' एउटी त चप्पल फुकालेर सुर्रिइहाली ।  'आफू विदेशमा गएर दसवटीसँग सल्कियो होला,' अर्कीले भनी, 'अनि घरकी बूढीलाई शंका गरेर कुटपिट गर्छ !' प्रहरीले बयान सुरु गर्‍यो । उसले एसएमएसको प्रसंग झिक्यो । फेरि हेर्दा सबै डिलिट भइसकेको थियो । देखाउन सकेन । जिल्ल पर्‍यो ।  'त्यत्तिकै शंका गर्नुहुन्छ, गाली गर्नुहुन्छ । कुटपिट गर्नुहुन्छ,' गालामा लागेको हत्केलाको छाप देखाउँदै श्रीमतीले भनी, 'मचाहिँ सधैं उहाँकै पूजा गरेर घरमा बस्छु ! लोग्ने मान्छेको जातै यस्तो !' सबैले उसैलाई सम्झाएर/हप्काएर पठाए । डेरावाल निकालियो, भिन्दै कुरा । तर, श्रीमतीको घन्टौं ट्वाइलेट छिर्ने र बेला-बेला अलप हुने चलन हटेन । उनीहरूको सम्बन्ध साइनोमा सीमित भयो । अर्थात्, साइनो रह्यो, सम्बन्ध रहेन ।  मनका कुरा सुनाउन त्यो व्यक्ति मकहाँ आयो । मेरो सूचीमा यस्ता धेरै घटना थपिँदै गए । कति उदाहरण ठीक उल्टा थिए जसमा श्रीमती दुःख गरेर बालबच्चा हुर्काइरहेकी हुन्थी, घर धानेकी हुन्थी । विदेशमा लोग्ने अनेक शंकाले जलिरहेको हुन्थ्यो । श्रीमती अर्कैसँग सुतिरहेकी होली भन्ने फोगटिया चिन्ताले मनोरोगी हुन्थ्यो । अनावश्यक झगडा बढ्थे । पारिवारिक विखण्डन र असमझदारीका यस्ता घटनाका पृष्ठभूमि केलाउँदै जाँदा ठोक्किन पुगें वैदेशिक रोजगारमा । यो नै सबै कारण होइन तर, मूल कारक यही हो । रेमिट्यान्सको रिङ्गेट वा रियालभित्र छिर्दै गएँ । त्यो बाध्यताले परिवार र समाजमा पारेका असर विश्लेषण गर्दै गएँ । काला पाटा धेरै देखिए । अनि, त्यसको पनि लहरो तान्दै पहरो चढें । पुगिँदो रहेछ द्वन्द्वमा । छयालीस सालको परिवर्तनपछि मुलुक जागरणको युगमा प्रवेश गर्‍यो । अध्ययन, चेतना र अधिकारका कुरा तीव्र भए । कर्मठ पुस्ता उत्पादन हुन थाल्यो । फेरि जब देशमा 'जनयुद्ध' सुरु भयो, युवाहरू भूमिगत हुँदै गए । पढाइ हापेर जंगल छिरे । ठूलो दस्ता बन्दुक बोक्न पुग्यो ।  दस वर्षपछि देशमा फेरि परिवर्तन भयो । लोकतन्त्र आयो । गणतन्त्र आयो । युद्ध लडेको माओवादी शक्तिमा अगाडि भयो । तर, उसका भर्‍याङ बनिदिएका धेरै व्यक्ति ब्वाङ्ग तल लडाइए । 'वर्गविहीन' समाजका लागि बन्दुक बोकेका उनीहरू नै सबैभन्दा निरीह भए । आफ्नै दलभित्र असमानताको दूरी बाँसको घनाभन्दा अग्लो भयो । नेता चुचुरामा पुगे, कार्यकर्ता पिँधमा । अघि-पछि लाग्ने केहीले मध्यमस्तरीय अवसर पाए । धेरैको त अवस्था दयनीय नै भयो ।  जागिर खोज्दै जाँदा तिनै नेताले भन्न थाले, 'कति पढेका छौ ?' बरु सुझाव पो दिन थाले, 'लोकसेवा लड न ।' हिजो 'बुर्जुवा शिक्षा' भनेर पढाइ त्याग्नेले त्यही बुर्जवा शिक्षाका डिग्रीधारीसँग प्रतिस्पर्धा गर्नुपर्ने भयो । त्यसका लागि देखाउने प्रमाणपत्र भएन । युद्ध लड्दा परिवार लथालिंग भयो । पढाइ रोकियो । घरबारी तीतेपातीको घारी भयो । शान्ति प्रक्रिया उनीहरूका लागि शून्य जीवनको सुरुआत बन्यो । अनि, सुरु भयो वैदेशिक रोजगारको लर्को । बन्दुक समाएका हातहरूले मरुभूमिमा गैँती समाउनुपर्ने भयो । मेसिन घुमाउनुपर्ने भयो । देशका लागि रगतको खोलो बगाएका उनीहरुले नै विदेशमा पसिनाको आहाल जमाउनुपर्ने भयो । त्यसैले तान्दै गयो अरूलाई पनि । विदेश जानेले थोरबहुत कमाएर ल्याउन थालेपछि गाउँमा बस्ने तन्नम देखिए । उनीहरू पनि हान्निए अनि । हुँदाहुँदा अब त दैनिक सरदर दुई हजार नेपाली कामका लागि बिदेसिन थाले । मैले यी सबै सेरोफेरोमा पुस्तक लेख्ने जमर्को गरें । त्यो पनि उपन्यास । नेपथ्यमा गाईंगुईं सुनिगएँ, 'युद्ध र वैदेशिक रोजगारजस्तो रूखो विषयलाई साहित्यमा कसरी ढाल्छ यसले ? सरल भाषा लेखिहिँड्ने मान्छेले साहित्य सिर्जना कसरी गर्छ ?' हो, मेरा प्रमुख चुनौती यिनै थिए । कृतिलाई विवरणात्मक हुनबाट जोगाउनु थियो । उँराठलाग्दो विषयलाई रसिलो बनाउनु थियो । सरलताभित्र साहित्यिक स्वाद पस्किनु थियो ।  कुरा रह्यो विषयवस्तुको । साहित्य कथिने कुरा भए पनि जीवन्त हुनैपर्छ । पाठकले त्यसमा आफू नै ठानेर पस्न सक्नुपर्छ । त्यसका लागि विषय सत्य हुनैपर्छ ।  तिनै विषयको खोजीमा म पटक-पटक मलेसिया, कतार र नेपाली श्रमिक कार्यरत अन्य मुलुक पुगें । एउटा कोठामा चौबीस जना बस्ने मलेसियाका क्याम्पमा नेपाली दाजुभाइको पाहुना बनें । कतारका मजरामा तीजमा रमाएँ । मलेसियाका खेतीमा फर्सी काटेर दसैं मनाएँ । मेसिनले दाहिने हात काटेका नेपाली बन्धुको देब्रे हातबाट प्रवासमा विजया दसमीको टिका लगाएँ । कतिपल्ट दालसँग उनीहरूका आँसु पिएँ । कतिपल्ट भात खाँदाखाँदै थालमा आफूले पनि आँसु खसाएँ । उनीहरूले पठाएका आँसु नै आँसुले बनेका अमूल्य नोटहरू ल्याइदिएर कतिका आमा-बुवा र पि्रयाहरूलाई थमाइदिएँ । तिनै भीडहरूमा मेरो हिरो जितबहादुर मलेसियामा पटक-पटक भेटियो । कम्प्युटरका पार्टपुर्जा प्याकिङ गर्ने भनेर पठाइएको ऊ चुईंचुईं भारी बोक्ने काममा परेको थियो । सहन नसकेर भाग्यो । कागजविहीन भयो । अर्को दलालले घाँसमा पानी हाल्ने भनेर सुँगुरको गुहु सोहोर्न पुर्‍यायो । त्यहाँबाट अर्काले करोडपति बन्ने सपना देखाएर युनिटीमा होमायो । त्यहाँ पनि फस्नु फस्यो । अन्ततः क्यामरुन हाइल्यान्डमा चाइनिजको खेतीमा लुकेर बस्न बाध्य भयो । बरु त्यहाँ पो रमायो !   जितबहादुर त्यो हो जसले सर्वहारा वर्गको अधिनायकत्वको आसमा बन्दुक बोक्यो । उसैको पछि लाग्दै भाइ पनि युद्धमा होमियो, मारियो । घरमै गएर सैनिकले बहिनीलाई घिसार्दै लगे । जंगलमा बलात्कार गरेर हत्या गरे । त्यो सहन नसकेर बुवाको मृत्यु भयो । त्यस्ता घटना छातीले थामेर बाँचेकी आमा र भर्खर बिहे गरेकी श्रीमतीलाई छाडेर ऊ विदेश जान बाध्य भयो । उतै अड्कियो । उसकी पि्रया पनि अन्ततः अर्कैसँग जान बाध्य भई ।  त्यही सेरोफेरोको 'साइड इफेक्ट' हो मेरो उपन्यास 'मलाया एक्सप्रेस' । क्वालालम्पुरका चाइनिज वेश्यालयमा अँगालो मार्दै छिर्ने दाजुभाइदेखि कोतरायका नेपाली रेस्टुरेन्टमा दारु खाएर हल्लिने मित्रहरूसम्म यसमा समेटेको छु । अनि, मालिकको शोषणमा परेका, लुटिएका, कुटिएका, दलालले चारैतिर फसाएका पात्रहरू जुटाएको छु ।  तर, उपन्यासले कसैलाई पीडा नपुर्‍याओस् भन्नेमा म सजग छु । अशान्तिभित्र शान्ति, बिछोडभित्र मिलन, समझदारीभित्र समझदारी, कालोभित्र सेतो अनि निराशाभित्र आशा देखाउनु मेरो उद्देश्य हो । देशमै अवसर सिर्जना गरेर समूर्ण युवालाई फर्काउने अनि घरघरमा सुख, शान्ति र समृद्धि छर्ने उपाय पनि 'मलाया एक्सप्रेस' मा फुराइदिएको छु । 

No comments:

Post a Comment